पाल्पामा गाडी पल्टदा तीनको मृत्यु: पहिचान अझै खुल्न सकेन

  Sampatti News

June 23, 2020

बुटवल । पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा तीन जनाको मृत्यु भएको छ ।

सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो । मृतकको आवधिक समयसम्म पहिचान खुल्न सकेको छैन ।


शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चारवटा सवारी बगाएको थियो । दुर्घटनामा परेका दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मृत्यु हुने तीन जना पुरुष रहेपनि अझै पहिचान खुल्न नसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।


तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्याङ्कर, लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । सडक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो ।
सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्धारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको थियो ।

प्रकाशित मिति:June 23, 2020