एमसिसि पारित गर्ने समय थप: संसद बैठक १७ गतेसम्मको लागि स्थगित

  Sampatti News

June 23, 2020

काठमाडौं  । नेकपाभित्र चर्को विवाद र बहसको केन्द्र बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएपनि संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलवार नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक पारित भएपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।​

मंगलवारको बैठकमै राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले नेपाल नागरिकता पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरेकी थिइन् ।

सम्झौतालाई जुन ३० अर्थात् असार १६ गतेसम्म संसदबाट अनुमोदन गरिसक्न एमसीसीले समयसीमा दिएको थियो । ‘जुन ३० सम्ममा पारित भइसक्नुपर्छ भन्ने कुरा लिखित रूपमा त कहीँ उल्लेख छैन, तर दुई पक्ष (नेपाल सरकार र एमसीसी)बीचको समझदारीमा तय भएको डेडलाइन हो यो,’ सम्झौता प्रक्रियामा सहभागी एक उच्च अधिकारीले भने

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बाझिएको हकमा नेपालको प्रचलित कानूनभन्दा एमसीसी माथि रहने कुरा उक्त सम्झौतामा उल्लेख रहेकाले संसदबाट पारित नभई कार्यान्वयन हुने अवस्था छैन ।

गत जेठ ६ गते संसदमा सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जसरी पनि पारित हुने बताएका थिए ।

प्रधानमन्त्रीले यसो भने पनि सत्तारुढ दल नेकपाका सबैजसो कमिटीमा बहुमत सदस्यहरू एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

प्रकाशित मिति:June 23, 2020