बाहिरबाट उपत्यका आउनेकाेलागि तुरुन्तै पिसिआर परिक्षण गर्न नपर्ने : १४ दिन होम क्वारेन्टाइन बसे पुग्ने

  Sampatti News

June 23, 2020

काठमाडौं   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गर्ने व्यक्तिले तुरून्त पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए।

मन्त्रालयले उपत्यका आउने मानिसहरूलाई पिसिआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह गरेको छ।

डा. गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनुबित्तिकै पिसिआर परीक्षण गर्न नपर्ने भन्दै १४ दिन होम-क्वारेन्टिनमा बन्नुपर्ने बताए।

‘बाहिरबाट आएकाले १४ दिन होम-क्वारेन्टिनमा बस्नुपर्छ। त्यसअवधिमा लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ,’ उनले भने।

त्यसरी भित्रिएका मानिसहरूलाई अनावश्यक रूपमा परीक्षण गर्न दवाब नदिन सम्बन्धित घरबेटी र सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ।

डा. गौतमले यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको बताएका छन्।

प्रकाशित मिति:June 23, 2020