साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित

  Sampatti News

June 24, 2020

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित तयारी गरेको छ ।

बोर्डले तयार पारेको कार्यविधिअनुसार सबै विद्यालयले असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र इकाइले असार ३० गतेभित्र सबै अंक बोर्डमा पठाउन निर्देशन दिइएको छ ।

विद्यालयको मूल्यांकन समिति र इकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षरांक पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गरिने कार्यविधिमा उल्लेख छ । बोर्डले बुधवार सबै विद्यालय र इकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै बुधबारवाट प्रक्रिया शुरू हुने जानकारी दिए । साउन ७ गतेबाट ११ कक्षाको नयाँ शैक्षिक सत्र शुरू हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए । बोर्डले मंगलवार माध्यमिक शिक्षा परीक्षा (एसईई) १० कक्षाको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमवार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरेपनि केही त्रुटि भएको कारण मंगलवार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:June 24, 2020