जनकपुरका दुई युवकको हत्या

  Sampatti News Online

January 22, 2023

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको सूचनाको आधारमा मृतकका परिवारका सदस्यहरु आइतबार बिहान घटनास्थल पुगेका थिए । रायका अनुसार शव जनकपुरका २२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहकै रहेको परिवारका सदस्यले पहिचान गरेका छन् । पोष्टमार्टमपछि बेलुकासम्म शव परिवारका सदस्यहरुलाई बुझाइने छ ।

रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए । पछिल्लो बुधबार (पुस २७ गते) दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए ।

दुवै जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको परिवारको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो । अपहरणकारीहरुले विष्णुका बुबालाई घरि सीमावर्ती कुनै गाउँ त घरि सर्लाहीको मलंगवा बोलाउने गरेका थिए । तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे ।

घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो । पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति:January 22, 2023