कतारबाट १ सय ५५ नेपाली आज नेपाल आउँदै

  Sampatti News

June 25, 2020

काठमाडौँ । कतार एयरवेजले बिहीवार बोइङ–७८७‘ड्रिमलाइनर’मार्फत १ सय ५५ जना नेपाली नागरिक लिएर आउने भएको छ।

पहिलो पटक नेपालमा ड्रिमलाइनरमार्फत दुईतर्फी चार्टर उडान गर्न लागेको यो वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि ड्रिमलाइनर नै प्रयोग गर्ने योजना रहेको जनाएको छ।

‘कतार एयरवेजले सार्क मुलुकभर हालसम्म दिल्लीमा मात्र ड्रिमलाइनर प्रयोग गर्दै आएको छ। नेपालमा अनुमति पाएको अवस्थामा सार्क मुलुकभर कम्पनीको ड्रिमलाइनर दुई वटा मुलुकमा सञ्चालनमा आउनेछ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने।

बिहीवार दिउँसो २ः०० बजे काठमाडौमा अवतरण हुन लागेको यो जहाजमा १ सय ५५ जना नेपाली नागरिक निःशुल्क आउन लागेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए।

‘यो जहाज दोहाबाट खाली आउन लागेको थियो। अहिले सरकारले विदेशमा रहेका नेपालीलाई विदेश फर्काइरहेको अवस्थामा कतार सरकारको पहलमा एक सय ५५ नेपालीलाई निःशुल्क ल्याइदिन लागेको जनाइएको छ,’ प्रवक्ता क्षेत्रीले भने।

प्रकाशित मिति:June 25, 2020