सम्पदा अभिलेख विद्युतीकरण गर्नु अपरिहार्य छ : सचिव रेग्मी

  Sampatti News Online

February 24, 2023

काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालका सम्पदा अभिलेख संरक्षणको अवस्था अबको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायका प्रतिनिधिहरुबीच सम्पन्न गरेको छ ।

पछिल्लो समय नेपालमा रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको लोप हुँदै र अभिलेख कमजोर बन्दै गईरहेको अवस्थामा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको भुमिका बाट मन्तव्य राख्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले भूमि तथा सम्पदा अभिलेखन हुनुपर्ने बताउनुभयो । अभिलेख सुरुमै जन्मिन पनि सक्छ, पछि हामीले जन्माउन पनि सक्छौँ । अभिलेख सुचनाको स्रोत हो । यसको नीति निर्माणको लागि आवश्यक छ । त्यसैले अभिलेखन कार्य महत्वपूर्ण कार्य हो । यो हुनुपर्दछ । अभिलेखन राम्रो नहुँदा विभिन्न समस्याहरु भोग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीमा सम्बन्धी स्पष्ट अभिलेख नहुँदा अहिले सीमा विवादहरु देखिने गरेको छ, त्यसैले सीमासम्बन्धी भएका विभिन्न सन्धी सम्झौताहरुलाई पनि राम्रोसँग अभिलेखिकरण गर्नुपर्दछ ।’ सचिव डा रेग्मीले आफूँ राष्ट्रिय किताबखानामा हुँदा अभिलेखसम्बन्धी कार्यलाई चुस्त दुरुस्त बनाउन सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म किताबखानामा रहँदा अभिलेख कार्यलाई विद्युतीकरण गर्न सफल भएको थिएँ, अहिले त्यहाँबाट प्राप्त हुने सेवा प्रवाह निकै नै प्रभावकारी र चुस्त छ ।’ उहाँले आफूँले गरेका कामहरुलाई प्रचार प्रसार गर्न जरुरी रहेको भन्दै म मेरो पहिचान अभिलेख पहिचानकै माध्यमबाट गर्न चाहान्छु । नेपाल सरकारले समेत अभिलेखसम्बन्धी कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले मन्त्रालय मातहत कार्यालयहरुको अभिलेख सम्बन्धित मन्त्रालयले राखेको जानकारी गराउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपाललाई धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनसरोकार र सामाजिक सरोकारका मुद्दाहरुलाई जोडतोडका साथ उठान गर्ने र बहसमा ल्याईरहेकोले यो संस्थालाई म हार्दिक धन्यवाद दिन चाहान्छु ।’ उहाँले यस तराई विकास तथा सञ्चार केन्द्र नेपाललाई आगामी दिनमा यस्ता खाले जनसरोकार, सार्वजनिक सरोकार र सामाजिक सरोकारका विषयहरुमा अझ केन्द्रित भएर अगाडि बढोस् भन्ने शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरश श्रेष्ठले अभिलेखसम्बन्धी थुप्रै कानुनहरु रहेको कानुन कार्यान्वयनको विषयमा समन्वय हुन नसक्दा केही चुनौतीहरु खडा भएको भन्दै यसलाई अन्तरमन्त्रालयका बीचमा नजिक ल्याउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिखेल विभागका महानिर्देशक पदम निधि सोतीले नेपालका सांस्कृतिक सम्पदाहरुको अभिलेख विभागसँग रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘पशुपती, लुम्बिनी, बागमति, बौद्ध लगायतका सांस्कृतिक सम्पदा, सार्वजनिक र सरकारी जग्गाहरुको कागजी नापनक्सा विभागमा रहेको छ तर, त्यसको संरक्षण गर्ने दायित्व भने विभाग होइन ।’ कार्यक्रममा गुठी संस्थानका किरण शाक्यले अन्तर निकायको समन्वयमा हुन नसक्दा अभिलेख कार्य चुनौती रहेको बताउनुभयो ।

पुरातत्त्व बिभागका प्रमुख योजना अधिकृत राम बहादुर कुवरले सबै क्षेत्रका सम्पदा संरक्षणमा बिभाग लागिरहेको बताउदै सबैको सहयोग अवस्यक रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले नेपालमा हिन्दु सभ्यता र बौद्ध सभ्यतासँग जोडिएका सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सयौं वर्ष अगाडि निर्माणमा भएका मठ मन्दिर, स्तुपाहरुको स्पष्ट अभिलेख नहुँदा नामेट हुँदै गईरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि, सञ्चारकर्मी तथा सम्पदाविद् दामोदर न्यौपाने साहित्यकार चेतनाथ धमला लगायतका व्यक्तित्वहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।त्यसैगरी कार्यक्रममा समाजसेवी पासाङ तेम्बा लामाले बिश्व सम्पदा सुचीमा रहेका सम्पदाहरु नाजुक मात्रै होइन पुजारीका भेषमा बसेका चीनिया लामाभुपती लामा जस्ता नक्कली काम गर्नेलाई पटकपटक दोहोराउनु रहस्यमय रहेको बताउदै अब यस्तो प्रवृत्ति हाबी नहोस् भन्दै अक्रोस पोख्नुभयो।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पदमनिधी सोती ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै गुठी संस्थानका प्रशासक किरण शाक्य ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै पुरातत्व विभागका प्रमुख योजना अधिकृत रामबहादुर कुवर ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चारकर्मी एवं सम्पदाविद् दामोदर न्यौपाने ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै समाजसेवी पासाङतेम्वा लामा ।

प्रकाशित मिति:February 24, 2023