सडक नै नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

February 26, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनाएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिडिई ओमराज ढुङ्गानाविरुद्द मुद्दा दायर गरेको हो । 

उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । भ्रष्टाचार गरेको आरोपमा तीनै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।   

गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी आयोगमा परेको थियो । यसबारे अनुसन्धान हुँदा गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको पाइएको थियो । 

उक्त पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निजले निर्णय गरी मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराएको पाइएको छ । जसका लागि कार्यक्रम तयार गरी स्वीकृतिको लागि प्रदेशसभामा पेश गरी राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार गरेको आयोगको भनाई छ । अख्तियारले उनीसंग ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

उक्त कार्यमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गत प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ पनि संलग्न रहेको आयोगको आरोप छ । उनले सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन बदनियतपूर्वक गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको डिजाइन गराएको पाइएको छ । सोवापत भुक्तानी भएको ५ लाख ७१ हजार ७८० रुपैयाँ  राज्यको सम्पत्ति तत्काल औचित्य नभएको स्थानमा खर्च गरी सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ । उनीसंग पनि सो बराबरको बिगो माग गरिएको छ । 

त्यस्तै, पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाले बदनियतपूर्वक कार्य गरेको आयोगले जनाएको छ । उनले जसका लागि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिएका थिए । जरेवरस्थित दरौदी खोला पुलको एकापट्टि रहेको पहुँचमार्ग सामुदायिक वनक्षेत्रमा कथित पुल निर्माणको नाममा वनको अनुमति वेगर सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो निर्माण गराई राज्यको सम्पत्ति तत्काल औचित्य नभएको स्थानमा बजेट खर्च गर्ने कार्य उनले गरेका थिए ।       

प्रकाशित मिति:February 26, 2023