काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परे: गिरी

  Sampatti News Online

February 28, 2023

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्। 

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीका रुपमा आफूले व्यतित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको बताए। उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए।

स्वास्थ्यमन्त्रीको रुपमा यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले जुटेँ। सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन्? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’, उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो। त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो। स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन।’

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव छ। 

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे।

उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए।

प्रकाशित मिति:February 28, 2023