मालपोतका सुब्बा र लेखापढि व्यवसायी अख्तियारको फन्दामा

  Sampatti News Online

March 2, 2023

काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढि व्यवसायीलाई नियन्त्रणमा लिएका छन् ।

मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण घुस रकमसहित पक्राउ परेका हुन् ।

मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ बस्ने सुभाष भू–सेवा केन्द्रका लेखापढि व्यवसायी कर्णको जिम्मा लगाएका थिए ।

दुबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरू गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारले आवश्यक अनुसन्धानका लागि दुईजनालाई बर्दिबासस्थित कार्यालय लग्ने तयारी गरेको छ ।

प्रकाशित मिति:March 2, 2023