सार्वजनिक बिदाका दिन कुन-कुन सरकारी कार्यालय खुल्ने हेर्नु हाेस्

  Sampatti News Online

March 2, 2023

काठमाडौं । सरकारले अबदेखि सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।  यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको हो ।

यद्यपी, शनिबारका दिन भने अत्यावश्यक कार्यालयहरु पनि खुल्ने छैनन् । आजको बैठकको निर्णय अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । 

यो दिन जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, कन्सुलर विभाग, आन्तरिक राजस्व विभाग र मातहतका कार्यालय, भन्सार विभाग र मातहतका कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, बैदेशिक रोजगार विभाग, यातायात व्यवस्था कार्यालयहरु, सरकारी अस्पताल, खानेपानी, विद्युत र दुरसञ्चार महशुल लिने कार्यालय खुला गरेर सेवा दिने खाका बनेको छ ।

तत्काल निर्णय कार्यान्वयनको निम्ति कर्मचारीलाई सिफ्टमा काम लगाइने छ । सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने व्यवस्था गरिएको छ । यो निर्णयले सेवाग्राहीलाई केही राहत पुग्ने अपेक्षा गरेको सरकारले क्रमशः अन्य सरकारी कार्यालयलाई पनि हप्तामा सातै दिन खोल्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।

यस्तो दिन कार्यालय आएर काम गर्ने कर्मचारीहरुले भत्ता पाउँदैनन्, बरु अर्को दिन सट्टा बिदा पाउनेछन् । कर, राजस्व र महशुल बुझाउनुपर्ने भएकाले सम्बन्धित कार्यालयमा रहेका बैंकका शाखा खुलाउन नेपाल राष्ट्र बैंकमार्फत निर्देशन दिने निर्णय भएको छ ।

प्रकाशित मिति:March 2, 2023