कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन “प्रहरी द्वारा अश्रुग्याँस र हवाई फायर”

  Sampatti News Online

March 19, 2023

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

विराटनगरमा आज दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको जनाएको छ ।

प्रकाशित मिति:March 19, 2023