प्रचण्डको झटारो ओलीलाईः पार्टी र अध्यक्ष दुवै छोड्नुस भारतले हैन मैले भनेको हुँ

  Sampatti News

June 30, 2020

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभई आफूले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष छोड्न भनेको बताएका छन्।

गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो।

बैठकमा सहभागी स्रोतका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका हुन्।

प्रचण्डले ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताएका थिए।

बैठकमा प्रचण्डले भने, ‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनुभयो। भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन ।’

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेको स्रोतले बतायो। ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले, यसबारे पनि गम्भीर छलफल हुनुपर्छ,’ बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए।

त्यसपछि प्रचण्ड भारतले नभई आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए।

‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए।

विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदो गरी राखिएको ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए।

प्रकाशित मिति:June 30, 2020