पालिकाको गाडी लिएर अध्यक्षका छोरा ‘मिसन ग्रासरुट’मा 

  Sampatti News Online

March 28, 2023

धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य हाल अमेरिका छन्। स्थानीय तहमा जनप्रतिनिधिले स्रोत र साधन कसरी दुरुपयोग गर्छन् भन्ने एउटा उदाहरण बनेका छन् धादिङको थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य । आचार्यले आफूले लिएको गाडी सुविधा आफ्नो छोरालाई प्रयोग गर्न दिएका छन् ।गत शनिबार पनि पालिकाकै गाडी लिएर दिनभर उनी दौडधुपमा देखिए र आइतबार पनि उत्तरी धादिङमै व्यस्त रहे।  त्यो पनि पार्टीको काम गर्न ।

अध्यक्ष आचार्यले चढ्ने बा.२झ ३६४१ नम्बरको पालिकाको गाडी उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उनका छोरा रमेश आचार्यले नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानभरि प्रयोग गरे। गत मंसिरदेखि पालिकाको गाडी धेरै जसो रमेशले आफ्नै अनुकुलमा चढ्दै हिँडेका छन् भने अध्यक्ष आचार्य प्रदेश ३– ०२००१ ब ३८४४ नम्बरको मोटर साईकलमा हिँड्ने गरेका छन् ।

अहिले यो गाडी अध्यक्षका छोरा रमेशले नेकपा एमालेको ग्रासरुट अभियानको नेता तथा कार्यकर्ता ओसार्ने सवारीका रुपमा प्रयोग गरिरहेका छन् । गाडीका विषयमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापालाई जिज्ञासा राख्दा उनले यस विषयमा कुनै जानकारी नभएको जनाए । थाँक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले पनि पालिकाको गाडीबारे आफूलाई जानकारी नभएको बताए ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ। कार्यालय प्रयोजनमा चलाउनैपर्दासमेत सम्बन्धित निकायबाट पास लिनुपर्छ । तर, बिदाको दिन गाडी चलाउने भनेर थाक्रे गाउँपालिकाबाट पासका लागि अनुमति नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति:March 28, 2023