पार्टी एकता बचाऔँँ: मन्त्री योगेश भट्टराई

  Sampatti News

July 1, 2020

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिँदै गएको आन्तरिक संकटका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट मन्त्री तथा स्थायी समिति सदस्यहरूसँग गरेको परामर्शपछि मन्त्री योगेश भट्टराईले पार्टी एकता सुदृढ पार्नुपर्नेमा जोड दिन शीर्ष नेतृत्वलाई आग्रह गरेका हुन् ।

बुधबार बिहान भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए । परामर्श सकिएलगत्तै मन्त्री भट्टराइले अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ ।

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ’, भट्टराईले ओलीलाई दिएको सुझावबारे जानकारी दिएका छन् । उनले भनेका छन् ‘चिज साकारात्मक दिशामा जाने आशा गराँ । प्रोक्सी वार बन्द गरौँ ।’

स्रोतका अनुसार बुधबार बिहानको परामर्शमा सहभागीहरुले ओलीलाई पार्टी निर्णय मान्न सुझाव दिएका थिए ।

प्रकाशित मिति:July 1, 2020