नेप्से घटेसँगै दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

  Sampatti News Online

April 20, 2023

काठमाडौं ।आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार १५.७३ अंकले घटेर १९०४.४० को विन्दुमा कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.७३ अंकले घटेर एक हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १५.१३ अंकले बढेर एक हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको थियो ।     

त्यस्तै, आज ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०७.८० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २४९.५० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १०.०४ प्रतिशतले घटेको छ ।

सामान्यतया एक दिनको कारोबारमा कुनै पनि कम्पनीको शेयरमुल्य १० प्रतिशत भन्दा बढीले घटबढ हुन पाउँदैन । तर, आज यसको मूल्य भने १०.०४ प्रतिशतले घटेको छ । यसबारे नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले प्राविधिक समस्याका कारण यस्तो भएको हुनसक्ने बताए । यसबारे बुझेर सच्याइने उनले बताए । 

प्रकाशित मिति:April 20, 2023