९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

  Sampatti News Online

April 21, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति सुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकोमा सो बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ । साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ । साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ । भदौ र असोमा ग्लोबल आईएमई बैंकले सो अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको छ ।

तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई भने सचेत गराइएको छ । राष्ट्र बैंकका अनुसार कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेका थिए । तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:April 21, 2023