महानगरले फाेड्याे शिक्षा विभागकाे ताला, बालेनले भने- विद्यालयमा राजनीति गर्नु अपराध नै हाे

  Sampatti News Online

April 28, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो । नगर प्रमुख बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध नै भएको दोहोर्‍याएका छन् ।

महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन् ।

विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारिएको उनले जनाएका छन् ।

शाहले ताला तोडिएको भिडियो फेसबूकमा राख्दै लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं ।’

प्रकाशित मिति:April 28, 2023