आज कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना ?

  Sampatti News Online

April 30, 2023

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

काठमाडौंमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाैं उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ ।

हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:April 30, 2023