विदेशबाट फर्किदा साथमा दुईभन्दा बढी मोबाइल ल्याए जफत

  Sampatti News Online

May 14, 2023

काठमाडाै ।  तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? विदेशबाट फर्किदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार तिर्न नपर्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् । 

मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तिमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्ने छैन । तर यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ ।

भन्सार विभागले आइतवार एक सूचना प्रकाशित गर्दै नयाँ नियमसम्बन्धि व्यवस्था स्पष्ट पारेको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई फर्किने क्रममा दुई वटा फोन महसुल नतिरी ल्याउन पाउने सुविधा प्राप्त हुनेछ । त्यसरी ल्याइएका फोन सम्बन्धित व्यक्ति स्वयम्ले नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ ।

तर अध्ययन, भ्रमण वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरूले भने साथमा एक थान मोबाइल मात्र महसुल नतिरी ल्याउन पाउने छन् र त्यसको घोषणा भन्सार कार्यालयमा गर्नुपर्ने छैन ।

प्रकाशित मिति:May 14, 2023