भ्रष्टाचार नियन्त्रणका लागि महालेखापरीक्षक टंकमणि शर्माको दुई सूत्र

  Rishi Kumar Yadav

May 17, 2023

काठमाडौ । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको छ । विभिन्न ठूला ठूला भ्रष्टाचारका काण्डहरु बाहिर आईरहेका छन् । पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मुलुककै गृहमन्त्री जस्तो गरिमायम पदमा पुगिसकेका नेपाली कांग्रेसका नेता बालकृष्णा खाँण, उपप्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसकेका एमाले नेता टोप बहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका शासक र प्रशासकहरु पक्राउ पर्नुले अन्तर्राष्ट्रिय जगत् नै तरंगित बन्न पुगेको छ ।
यसबीच, मुलुकमा देखिएका भ्रष्टाचार तथा अनियमितताका घटनाहरु बढिरहँदा समस्याको जड के हो ? यी समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न छलफल गर्दै सुशासन अभियानमा सहयोग पुगोस् भन्ने उदेश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालले सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा माननीय महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दुई सूत्रको खुलासा गरेका छन् । नेपालको महालेखापरीक्षकका रुपमा ६ वर्षको कार्यकाल पूरा गरेका शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई सूत्र अगाडि सारेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं संस्थाका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै शर्माले मुलुकका कुशासन फस्टाईरहेको, भ्रष्टाचारजन्य गतिविधि बढिरहेको जिकिर गर्दै त्यसको न्यूनीकरणका लागि दुई सूत्रको खुलासा गरेका हुन् ।
कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रयण गर्दै सदाचारको निर्माण गर्ने र सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सकिने गरी दुई सूत्र सार्वजनिक गरेका हुन् ।
उनले भने- “व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन तर्फ उन्मुख हुने कि सबै अनुशासित भई आ आफ्नो तर्फबाट सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, यी दुई मध्ये एक शुत्रको प्रयोग मार्फत भ्रष्टाचार तथा अनियमितता न्यूनीकरण गर्न सकिन्छ ?”
उनले बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुले मात्र नभएर आम जनताले सुशासनका लागि खबरदारी गर्नुपर्नेमा जोड दिए ।
महालेखापरीक्षक शर्माले विश्वमा भ्रष्टाचार नियन्त्रण हुन सक्दैन, मात्रा धेरै थोरै मात्र हो । उनले भने, ‘महालेखा विश्वमा भ्रष्टाचार कम रहेको मुलुकहरुले समेत सुशासनका क्षेत्रमा बढीमा ९० अंकसम्म पाएका छन् यसको अर्थ भ्रष्टाचार नियन्त्रण पूर्ण रुपमा हुन सक्दैन । नेपालको हकमा भने ३३ अंक रहेको छ । यसलाई सुधार गर्न सकिने भन्दै यसतर्फ आम नागरिकले समेत भूमिका खेल्नुपर्दछ तर, भ्रष्टाचारजन्य गतिविधि शुन्य कामय गराउन भने गाह्रो छ ।’
सम्वैधानिक निकायका प्रमुख एक्लैले केही गर्न सक्दैनन् । यो अनुभव मैले ६ वर्षकाम गर्दा संगालेको छु भन्दै नागरिक समाजले खबरदारी गर्नुपर्दछ । मुलुक कुशासनको डरलाग्दो स्थितिमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले शासकहरु त्याग र सेवाका लागि जानुपर्ने भएपनि लाभ र तलबका राजनीतिमा लागेकाले भ्रष्टाचार बढिरहेको बताए ।
अख्तियारले सुशासनका निम्ति अदालतमा मुद्दा अगाडि बढाएपनि अदालत भित्रको बेथितिले सुशासनलाई प्रभाव पारेको जानकारी गराए । पछिल्लो पटक संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुले डरलाग्दो अवस्था ल्याउन सक्नेमा उनको आशंका थियो । उनले पछिल्लो समय न्यायलय समेत सेटिङ्गमा चल्न थालेको छ, अनि कसरी सुशासन हुन्छ ? कसरी न्याय पाउन सकिन्छ ? प्रश्न गरे ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले सबै प्रशासकलाई भ्रष्टाचारीको रुपमा हेर्न नहुने बताए । उनले भने ‘सबै कर्मचारीलाई एउटै नजरले नहेरौँ, अँध्यारोमा जुनकिरी छन्, त्यसलाई निभ्नबाट बचाऔँ ।’
उनले विकास निर्माणका कार्य समयममै हुन नसक्नुको प्रमुख कारण साइनिंग मनी भएको बताए । उनले भने, ‘सुरुमै पेश्की लियो त्यो पेश्की वापतको पैसा लिएपछि सबैलाई वितरण गर्‍यो । दोस्रो किस्ता ठेकेदारले जग्गामा लगानी गर्छ अनि कसरी समयमै विकास हुन्छ ?’
पूर्व मुख्यसचिव पौडेलले सुशासन प्रत्याभूत गराउन अख्तियार दुरुपयोग अनुसन्धानको कानुनले धेरै कुरा समेटेको छ । यो सक्रिय हुनुपर्‍यो । यसलाई कमजोर बनाउन नहुनेतर्फ जोड दिए ।
कार्यक्रममा पूर्वमहान्यायधिवक्ता एवं प्रा.डा. युवराज संग्रौलाले नेपालमा विदेशी हस्तक्षेप बढ्दा मुलुकमा भ्रष्टाचार लगायतका विकृतीहरु बढिरहेको दाबी गरे ।
‘शिक्षा नीति विदेशी, अर्थ नीति विदेशी, न्यायाधिश नियुक्तिमा विदेशी प्रभाव, कानुनको कुरा आउँदा विदेशी, वित्तको कुरा आउँदा विदेशी यी सबै कुरामा विदेशीको इन्ट्रेस र टे«निङ्गमा आइरहेका छन् अनि कसरी हुन्छ सुशासन ?’
संग्रौलाले मुलुकको अर्थतन्त्र १० जनाले चलाएको गम्भीर खुलासा गरेका छन् । उनले भने, ‘हामीले हालैमात्र गरेको गहिरो अध्ययनबाट मुलुकको अर्थतन्त्र १० जनाको हातमा रहेको प्रष्ट भएको छ र ती १० जना विदेशीले चलाएको छ ।’
कर्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले सुशासन कायम गराउनका लागि आ आफ्नो ठाउँबाट सबैले जिम्मेवार र दायित्वबोध गर्नुपर्ने बताए । उनले हरेक नागरिकले म कस्तो व्यक्तिबाट शासित छु भन्ने कुरामा स्पष्ट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले पछिल्लो समय सबैभन्दा बढी ढिलासुस्ती र अनियमितता स्थानीय तहमा हुने गरेको बताए । उनले संघीयता आएपछि जनताको घर दैलोमा पुगेको सरकारकै विरुद्ध बढी उजुरी केन्द्रमा परेका दाबी गरे ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रमुख पदमिनि प्रधानाङ्गले नेपालमा नीतिगत भ्रष्टाचारले जरा गाडेको बताइन् । उनले यस विषयमा आम नागरिकहरु सचेत भई सरकारलाई खबरदारी गर्नुपर्ने सुझाइन् ।
कार्यक्रममा नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले भ्रष्टाचार नियन्त्रणका लागि शासक र प्रशासक सच्चिनु जरुरी रहेको बताए ।
पण्डितले हामी नागरिकहरु भ्रष्टाचार विरुद्ध बोल्छौँ, लेख्छौँ तर, शासक र प्रशासकहरुले त्यसलाई वास्ता गर्दैनन्, आफ्नो कुकर्मलाई रोक्दैनन्, जसबाट नेपाली जनता वाक्क दिक्क भईसकेको बताए ।
राजनीतिज्ञ र कर्मचारीहरुले नै राज्यको सिस्टम नै फेलियर बनाउन लागेका समेत उनले आरोप लगाए । ‘शासक र प्रशासकले आफ्नो चरित्रमा सुधार नल्याए भ्रष्टाचार न्यूनीकरण असम्भव सिस्टम नै फेलियर हुने अवस्था आईसकेको छ ।’
सत्ता गठबन्धनका दलहरुबीच पटक पटक मिटिङ्ग बस्ने गरेपनि जनताको हकहितमा कहिल्यै छलफल नहुने बताए ।
उनले भने, ‘सत्तारुढ दलको मिटिङ्ग बस्छ, त्यो मिटिङ्गमा जनताको आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य शिक्षाका विषयमा कहिल्यै छलफल हुँदैन छलफल हुन्छ राजदूत नियुक्ति, मन्त्रीको नियुक्ति, बोर्डमा कसलाई नियुक्ति गर्ने भनेर ।’
उनले २०८४ सालसम्म शासक र प्रशासक नसच्चिए पुराना दलहरु बढानिरे निश्चित भएको दाबी गरे ।
कार्यक्रमका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले सुशासन प्रत्याभूत गराउने सन्दर्भमा सरकारी, गैरसरकारी संघ संस्था लगायत नागरिक समाज समेत गम्भीर हुनुपर्ने सुझाव दिए ।
चौलागाईंले भ्रष्टाचार नियन्त्रण गर्दै थप सुशासन प्रत्याभूत गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय, प्रहरी संगठनको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै ती संघ संस्थाहरुलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी पछिल्लो समय राष्ट्रिय सभा र प्रतिनिधिसभामा टेबल भएका कतिपय विधेयकहरुले सुशासन होइन कुशासन निम्त्याउन सक्ने भन्दै अध्यक्ष चौलागाईंले यसप्रति नागरिकहरु सचेत हुनु जरुरी रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत कमजोर बनाउने गरी समाचारहरु प्रकाशित भईरहेका हुँदा त्यस्ता समाचार प्रवाह गरी सुशासन कायम गराउने प्रमुख निकाय अख्तियारलाई कमजोर बनाए सुशासन खोज्ने नागरिक समाज भोलीका दिनमा पछुताउनुपर्ने भन्दै भ्रामक समाचार सम्प्रेषण गर्दा आमनागरिकमा आमसञ्चार माध्यमप्रतिको जनविश्वास घट्नसक्ने चिन्ता व्यक्त गरे । नागरिक समाजले सुशासनको प्रवद्र्धन आफ्नो ठाउँबाट निरन्तर खबरदारी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकालले पूर्वाधार निर्माण र सुशासनको सवालमा तयार पारेको तथ्याँकसहितको लेख चाँडै नै सम्पत्ति मासिकले प्रकाशित गर्ने र उहाँले हालसम्म पुर्‍याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै महालेखा परीक्षक शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल र राष्ट्रिय सतर्ककता केन्द्रका सचिव सुरेश आचार्यले खादा लगाएर सम्मान र बधाई दिनुभएको थियो ।
कार्यक्रममा उपमहालेखा परीक्षक महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी, नेपाल सरकारका सचिव तोयम राय, काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, वाणिज्य विभागका महानिर्देशक गजेन्द्र ठाकुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहाल लगायत दर्जनौँ उच्च तहका प्रशासक, नागरिक समाजका अगुवा, कानुन व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मुख्यसचिव लीलामणि पौडेल ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै , राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रमुख पदमिनी प्रधानाङ्ग ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोविन्दप्रसाद चौलागाईं ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकालले पूर्वाधार निर्माण र सुशासनको सवालमा तयार पारेको तथ्याँकसहितको लेख चाँडै नै सम्पत्ति मासिकले प्रकाशित गर्ने र उहाँले हालसम्म पुर्‍याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै महालेखा परीक्षक शर्मा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय सतर्ककता केन्द्रका सचिव सुरेश आचार्यले खादा लगाएर सम्मान र बधाई दिनुभएको थियो ।

कार्यक्रममा सहभागिता जनाउँदै महालेखापरीक्षक टंकमणि शर्मा, उपमहालेखापरीक्षक महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य,काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय र सम्मानित हुने भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकाल।

प्रकाशित मिति:May 17, 2023