वरिष्ठ निरीक्षक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

May 30, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो।

झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण र सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घरखर्च, विभिन्न शीर्षकमा राजस्व र कर तिरेको र बैंक मौज्दातसमेत गरी कुल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ।

सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको छ ।

प्रकाशित मिति:May 30, 2023