मानव अंग प्रत्यारोपणलाई अझै सहज बनाउँन सरोकारवालाहरुको माग

  Sampatti News

July 9, 2020

काठमाडौं । सम्बन्धीत सरोकारवालाहरुले मानव अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाएर अगाडि बढ्नुपर्ने बताएका छन् । सञ्चार केन्द्र नेपालले बुधबार राजधानीको अनामनगरमा आयोजना गरेको मिर्गौला तथा अंगदान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी पुराना कानूनमा परिमार्जन गरी सहज बनाइसकेको दावी गर्दै अझै पनि केही समस्या संसोधन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सांसद खगराज अधिकारीले नेपालमा आफ्ना नजिकका ३९ वटा नाता भित्रका कुनै पनि व्यक्तिले दान गरेको मिर्गौला लिन मिल्ने गरि कानून परिमार्जन भएर प्रयोगमा आइसकेको बताउदै नाताका कारण कसैलाई अझै असहज अवस्था आएको भए कानून परिमार्जन गर्न आफूहरु लाग्ने बताए।

संसदको स्वास्थ्य समितिका सदस्य समेत रहेका पूर्व मन्त्री अधिकारीले भने, ‘प्रत्यारोपणमा कानूनी अड्चन छन् भने तिनलाई सहज बनाउन सकिन्छ । तर कानून सहज बनाएर मिर्गौला तस्करी गर्ने छुट भने कसैलाई छैन् ।’ अंगदानका बिषयमा आमसमुदायमा सही जानकारी नभएकाले अझै पनि ब्रेन डेथ (मस्तिष्क मृत्यु) भएका व्यक्तिका आफन्तहरुले अंगदान गर्न नमान्ने प्रवृति रहेकाले त्यसलाई हटाउन व्यापक रुपमा जनचेतना जगाउन आवश्यक रहेकोमा उनले जोड दिए। आफूपनि अंग दान गर्न तयार रहेको बताए।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक प्रा.डा.प्रेम ज्ञवालीले ३९ वटा नाता पर्नेले मिर्गौला दान दिन पाउने कानून नेपालमा बाहेक एशियाका अरु कुनै पनि देशमा नभएको बताए ।

नेपालमा मिर्गौला प्रत्यारोपणको सफल दर विश्वका अन्य विकसित देशको भन्दा अब्बल रहेको ज्ञवालीले बताए । सरकारले मिर्गौला डाइलासिस निशुल्क गरेको र प्रत्यारोपण गर्दा साडे ५ लाख रुपैया उपलब्ध गराउने डा ज्ञवालीले जानकारी गराए । डा. ज्ञवालीले बेलायत, जापान जस्ता संसारका कुनै पनि देशले निशुल्क डायलासिस गर्ने नगरेको दावी गरे।

ब्रेन डेथ भएका व्यक्तिको अंग निकालेर प्रत्यारोपण गर्ने काम सहज नभएको बताउदै डा. ज्ञवालीले कानून बनेर पनि अस्पतालहरुबिच आपसी समुन्वयका कारण ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणले गती लिन नसकेको स्विकारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्ने कामको समुन्वय गर्ने जिम्मा दिएको भएपनि त्यँहा व्रेन डेथ भएका बिरामी नै नहुने भएकाले समन्वय नमिलेकाले समस्या भएको बताए ।

उनले हालै स्वास्थ्य मन्त्रालयले त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. ईश्वर लोहनीलाई समुन्यन समितिको संयाजक नियुक्त गरेकाले भविश्यमा ब्रेन डेथ भएका व्यक्तिको अंग निकालेर अरुमा प्रत्यारोपण गर्ने काम भईरहेको बताए ।

कोरोना संक्रमणका बेला प्रत्यारोपण गर्न झनै खतरापूर्ण हुने भएकाले तत्काल प्रत्यारोपण गर्न नसकिएको जानकारी गराउदै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा साउनदेखि सुरु गर्ने योजना रहेको जानकारी दिए।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौडेलले यदी कुनै व्यक्तिको ज्यान बचाउनका लागि अंग दान दिन चाहन्छ भने त्यसमा कानूनले बाधा सिर्जना गर्नु नपर्ने बताए । ब्रेन डेथ भएका व्यक्तिको अंगदानका बिषयमा वर्तमान कानूनलाई परिमार्जन गरेर राज्यलाई आवश्यक भए ब्रेन डेथ भएका व्यक्तिको अंग परिवारका सदस्यको अनुमती नै नलिएर लिन पाउने कानून बनाउन समेत राज्यले डराउनु नपर्ने पौडेलले बताए।

मिर्गौला तथा अंगदान राष्टिय अभियान नेपालका संयोजक रेणुका भट्टराईले मिर्गौला प्रत्यारोपणको दायरा बनाउन कानून परिमार्जन गर्ने आवश्यक रहेकोमा जोड दिइन । सञ्चार केन्द्र नेपालका संस्थापक एवं कार्यक्रमका सभापति गोविन्द चौलागाईले हजारौ व्यक्ति मिर्गौला प्रत्यारोपणको पर्खाईमा रहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुले सहज रुपमा मिर्गौला प्रत्यारोपण गर्न पाउने वातावरण बनाउन राज्य र सरोकारवाला लाग्नु पर्ने आवश्यता रहेको बताए ।

प्रकाशित मिति:July 9, 2020