अख्तियार प्रमुख राईको अनुकरणीय व्यक्तित्व

  Sampatti News Online

June 6, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई नेपालको सार्वजनिक प्रशासनमा एक अनुकरणीय व्यक्तित्वका रुपमा चिनिन्छन् । प्रमुख आयुक्त राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुस खोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाएका थिए । गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषयलाई प्राथमिकतामा राखी आफ्ना कामकार्वाही अघि बढाएका थिए ।
राई अख्तियार प्रमुखमा नियुक्त भएपछि भूमाफिया र तिनका संरक्षकहरूको सातो गएको थियो । सर्वसाधारण जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मल खाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमति पत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृत पत्र लगायतका क्षेत्रमा हुने अनियमितता, घुस खोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने र गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषयलाई उच्च प्राथमिकतामा राखी काम गरेका प्रमुख आयुक्त राईले यसका लागि द्रुत निगरानी तथा सूक्ष्म अनुसन्धान टोली खटाएका थिए ।

सेवा प्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउन उनले विशेष पहल गर्दै आएका थिए । विकास निर्माणका कार्यका सिलसिलामा हुने लागत स्टिमेटमा अनियमितता, बोलपत्र प्रक्रियामा मिलेमतो, गुणस्तरहीन निर्माण कार्य, काम सम्पन्न नगरी हुने भुक्तानी, एउटै काममा दोहोरो–तेहरो खर्च लेख्ने, काम ढिलो गर्ने र लागत बढाउने तथा बढी भुक्तानी दावी गर्ने, ठेक्का ओगट्ने र काम नगर्ने जस्ता अनेकन् प्रवृत्ति देखिएको भन्दै प्रमुख आयुक्त राई यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र यसमा हुने भ्रष्टाचार रोक्न निरन्तर क्रियाशील रहेका थिए ।

अख्तियारको वार्षिक प्रतिवेदन बुझाउँदै प्रमुख आयुक्त राई

२०७७ माघ २१ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका पूर्व सचिव प्रेम कुमार राईले नियुक्ति लगत्तै २०७७ फागुनदेखिको पेन्सन सुविधा नलिने घोषणा गरेका थिए । प्रमुख आयुक्त राईले प्रमुख आयुक्तको रूपमा आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तिभरण नलिने स्वघोषणा गरेका थिए । प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधा मात्र लिने स्वघोषणा गर्दै राईले पेन्सन सुविधा रोक्का राखिदिन निवृत्तिभरण कार्यालयलाई पत्राचार गरेका थिए ।
निजामती प्रशासनमा स्वच्छ छविको प्रशासकका रूपमा चिनिने राईले सुधार आफैँबाट सुरुवात गर्नुपर्ने र राज्य कोषबाट दोहोरो सुविधा नलिने आफ्नो मान्यता अनुसार निवृत्तिभरणको कार्यालयलाई आग्रह गरेका ।राईभन्दा अगाडि नियुक्त भएका आयोगका पदाधिकारीहरूले आयोगबाट प्राप्त हुने सेवा सुविधाका साथै पूर्व कर्मचारीको हैसियतमा प्राप्त हुने पेन्सन सुविधा पनि लिँदै आएका थिए ।
सुधारवादी प्रशासकको छवि बनाएका राई जागिरको सिलसिलामा जति पनि ठाउँ बसे, केही नयाँ गरेरै हिँडे । नेपालको निजामती प्रशासनमा ३६ वर्ष व्यतीत गरेका राईले जागिरको उत्तरार्धका २२ महिना गृह सचिवबाट बिदाइ हुँदै गर्दा पनि अमिट छाप छोडेर गएका थिए ।
स्वच्छ छविका निर्दोष राईलाई पछिल्लो समय भ्रष्टाचारविरुद्ध उनको आक्रामक कार्वाहीबाट अत्तालिएका स्वार्थसमूहले नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनियोजित रुपमा फसाई दुःख दिने काम गरेका छन् । शक्तिशाली संवैधानिक निकायको एक इमान्दार र कर्तव्यनिष्ठ प्रमुखलाई आफ्ना सशक्त कामकार्वाहीबाट विमुख बनाउन गरिएको षड्यन्त्रको प्रतिकार गर्न राईलाई सबै पक्षबाट सहयोग र समर्थनको आवश्यकता छ ।

गृहसचिवका रुपमा राईको उदाहरणीय कार्य


अख्तियार प्रमुख राई निजामतीका चम्किला ताराका रूपमा परिचित व्यक्ति हुन् । २२ महिने कार्यकाल पूरा गरी राईले गृहसचिवका रुपमा २०७६ साल माघ २२ गतेबाट अनिवार्य अवकाश पाएका थिए । उनले अवकाश पाएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरुसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो ।
आफू गृहसचिवमा कार्यरत रहँदा राईले नै ललिता निवास जग्गा प्रकरणमा चासो लिएर अनुसन्धान गर्न लगाएका थिए । उनकै निर्देशनमा नेपाल प्रहरीको सीआइबीलाई अनुसन्धानको महत्वपूर्ण पाटोको जिम्मा दिइएको थियो । राईले यो मामलामा निकै चासोका साथ कदम चालेका थिए । त्यसैले पनि उनी अवकाश नहुँदै अख्तियारले यो विषयमा मुद्दा दायर गरेको हुनसक्छ । राईकै पहलमा बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो ।


निजामती सेवामा संलग्नता


राई उच्च शिक्षा अध्ययनकै क्रममा २०४० श्रावण १ गते निजामती सेवामा प्रवेश गरेका थिए । लेखापालमा नाम निस्किएपछि उनी महालेखापरीक्षकको कार्यालय रोजी काम गर्दै पढ्न थाले । उनले २०४४ सालमा शाखा अधिकृत पदमा नाम निकालेका थिए । २०४९ सालमा उपसचिव पदमा नियुक्त राईले सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गरेका थिए ।
सचिव बढुवा भएपछि राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारीमा काम गरेका थिए ।
२२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राईले २०७६ साल माघ २२ गतेबाट अनिवार्य अवकाश पाउने भएपनि त्यसको ३ दिनअगाडि २० माघदेखि लागु हुनेगरी सरकारले उनको राजीनामा स्वीकृत गरेको थियो ।सरकारी जग्गा अपचलनको छानबिन प्रक्रिया तत्कालीन गृहसचिव राईले सुरू गरेका थिए ।


बाल्यकाल र शिक्षा–दीक्षा


प्रेमकुमार राईको जन्म वि.सं. २०१८ सालमा संखुवासभा जिल्लाको खोरन्डे गाउँमा मध्यम वर्गीय किसान परिवारमा भएको थिए । वर्तमानमा पनि उहाँको व्यवहार रहनसहनमा पारिवारिक पृष्ठभूमिकै प्रभाव देखिन्छ । संवैधानिक अंगको प्रमुखमा नियुक्त हुँदा समेत उहाँको व्यक्तित्व र जीवनशैलीमा ग्रामीण सरलता अझै विद्यमान छ। उनको बाल्यकाल संखुवासभामै बितेको थियो । माध्यमिक तहसम्मको शिक्षा उनले गृहजिल्लामै हासिल गरेका थिए । राईले २०३५ सालमा संखुवासभाको खाँदबारीस्थित हिमालय माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । एसएलसी पास गरेपछि उनी उच्च शिक्षका लागि काठमाडौं आएर २०३६ सालमा शंकरदेव क्याम्पसमा आई।कममा भर्ना भई २०३९ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसबाट वाणिज्य संकायबाट स्नातक तहको अध्ययन पूरा गरेपश्चात् राईले २०४५ सालमा शंकरदेव क्याम्पसबाट वाणिज्य प्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए ।

प्रकाशित मिति:June 6, 2023