ललिता निवास प्रकरणः पक्राउ पर्नेको संख्या सात पुग्यो

  Sampatti News Online

June 27, 2023

काठमाडौं । राजनीतिक हस्तक्षेपपछि रोकिएको ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पुन अनुसन्धान गर्दै यस मुद्दाका मुख्य योजनाकार भाटभटेनीको सञ्चालक मिनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा परेकाहरूको खोजी कार्य थालेको छ ।

२२ माघ २०७६ मा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका १ सय ७५ जनाको भूमिका देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिगोसहितको मुद्दा दर्ता गराएको थियो । 

यसरी मुद्दा परेका व्यक्तिहरूका बारेमा अनुसन्धान गर्न सीआईबीले डीएसपीको कमाण्डमा उनीहरूको खोजी कार्य थालेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ रहेका छन् । यसका साथै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की र भुपेन्द्रमणि केसी पक्राउ परेको प्रहरीले जनाएको छ । 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा वर्तमान न्यायाधिश कुमार रेग्मी, पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ, पूर्वअर्थमन्त्री विष्णु पौडेल  र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि यो मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ ।  

प्रकाशित मिति:June 27, 2023