जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

June 27, 2023

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मिश्रको १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ ।

तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले बताएको छ । यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मिति:June 27, 2023