हरेक कर्मचारीका लागी इमानदारिता ठूलो बल हो : सचिव एकनारायण अर्याल

  Sampatti News

July 14, 2020

काठमाडौ । मुलुक संघीयतामा गईसकेपछि संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारहरु सञ्चालन भईरहेका छन् ।

संघीयता अनुसार सरकारहरु सञ्चालन भईरहँदा सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने नीति लिएपनि त्यसको पूर्ण कार्यन्वयन नभईसकेको अवस्था विज्ञहरुको छ । यसै सन्दर्भमा केन्द्रित भई आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित सञ्चार केन्द्रको हलमा ‘संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बोल्दै नेपाल सरकारका सचिव तथा काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले संविधानमा भएको संघीयता व्यवहारमा पूर्ण रुपमा लागु गराउन हरेक प्रशासक आआफ्नो ठाउँबाट इमानदारीका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो इमानदारिता भित्र ठूलो नैतिक बल लुकेको हुन्छ भन्दै हरेक कर्मचारीका लागी इमानदारिता ठुलो बल हो।तसर्थ उहाँले संघीयता सही ट्रयाकमा ल्याउनका लागी सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनु भयो।


कार्यक्रममा काठमाडौका सिडिओ जनकराज दाहालले संघीयता अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल सुखी नेपालीको’ अवधारणालाई पूर्ति गर्नका लागि जनप्रतिनिधिहरुसँग मिलेर काम गर्नुपर्ने र आइपरेका चुनौतीपूर्ण अवस्था पार लगाउन प्रशासकहरु सक्षम रहेको जिकिर गर्नुभयो । हालै सहसचिवमा बढुवा हुुनुभएका प्रशासकहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी दाहालले सहसचिवमा बढुवा हुनुभएका सहसचिवहरुलाई सेवाप्रवाहलाई गुणस्तरीय बनाई जनताको सेवा गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा महानिर्देशक नेत्रप्रसाद सुवेदीले संघीयतासम्बन्धी मापदण्ड र कार्यविधिका कार्यहरु अगाडि बढिरहेपनि संविधान अनुसार संघीयताको पूर्ण रुपमा कार्यन्वयन नभईसकेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश तहबीच राम्रो कम्युनिकेशन नहुँदा संघीय संरचना अनुसार तीन तहमा सञ्चालित सरकारहरुले जुन रुपमा जनताको सेवा गर्नुपर्ने हो त्यो हुन नसकेको जनस्तर बाट गुनासो आइरहेकोले सबै पक्ष सचेत रहन आग्रह गर्नु भयो।
त्यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सहसचिव रुद्रसिंह तामाङ्गले संघीयताको मर्म अनुरुप लाग्नुपर्ने बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ता तथा काठमाडौ महानगरपालिकाका प्रमुखको समेत सफल रुपमा जिम्मेवारी बहन गरिसक्नुभएका तामाङ्गले संविधानमा संघीयताको पूर्ण रुपमा व्यवस्था भएपनि कार्यन्वयनमा लाग्दा प्रशासकहरुले सहजीकरण गर्नुपने बताउनु भयो।


कार्यक्रममा उपसचिवबाट सहसचिवमा बढुवा हुनुभएका नवराज ढुँगाना, तिर्थराज भट्टराई, जीवलाल भुसाल, लक्ष्मीप्रसाद निरौला, सुरेश न्यौपाने र अनिता निरौलालाई कार्यक्रममा प्रमुख अतिथि सचिव अर्यालले खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भने सहसचिवद्वय नवराज ढुँगाना र अनिता निरौला, राजधानी दैनिकका सम्पादक सागर पण्डित र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईंले समेत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति:July 14, 2020