कांग्रेस बैठकमा उठ्यो प्रदेश संरचनालाई जिम्मेवारी दिन नसकिए खारेज गर्नुपर्ने मा

  Sampatti News

July 19, 2023

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश संरचनालाई जिम्मेवारी दिन नसकिए खारेज गर्नुपर्ने माग उठेको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा कांग्रेसका प्रदेश सभापतिहरू आमन्त्रित केन्द्रीय सदस्यका रूपमा धारणा राख्दै जिम्मेवारी दिन नसके प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेका हुन् ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको प्रस्तावमा प्रदेश कहीँ पनि नभेट्टाएको उल्लेख गर्दै कांग्रेसले दुई तहको संरचनाको नेतृत्व लिनुपर्ने बताएका हुन् । ‘सबैको अस्तित्वलाई स्वीकारेर संविधान आएको हो । प्रदेश आवश्यक छैन भने कांग्रेसले दुई तहको संरचना हुनुपर्छ भनेर त्यसको नेतृत्व गरोस्,’ उनले भने ।

कांग्रेस मधेस सभापति कृष्ण यादवले प्रदेश संरचनालाई जिम्मेवारी दिन नसकिए खारेज गर्नुपर्ने बताए । प्रदेश संरचनालाई पार्टीले बाइपास गरेको उनले बताए । ‘प्रदेश संरचना किन बनाइयो रु प्रदेशलाई जिम्मेवारी दिन सकिँदैन भने खारेज गरियोस् । जे पनि जिल्लामा गरिएको छ । प्रदेशलाई बाइपास गरिएको छ,’ उनले भने ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेशलाई बलियो बनाउनुपर्ने बताए । ‘केन्द्रबाट शासन चलाउने हो भने नेता त होलान्, हुलहुज्जत त होला त। संगठन हुँदैन । नेताहरू जिल्ला, वा स्थानीय तहमा पुगेको समेत हामीलाई जानकारी हुँदैन । यसरी चल्दैन संस्थागत हुनुपर्छ,’ उनले भने ।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सबै केन्द्रबाट चलाउने हो भने किन प्रदेश संरचना आवश्यक परेको हो भन्दै प्रश्न गरे । कर्णालीका सभापति ललितबहादुर शाहीले भने आफूलाई बागी उठाएर चुनाव हराउने व्यक्तिको कारबाही फुकुवा गरिएको भन्दै आक्रोश पोखे ।

कांग्रेसका प्रदेश सभापतिहरूले प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्य मात्र बनाइएको भन्दै विधानमै व्यवस्था गरेर प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमिति बैठकमा बस्ने वातावरण बनाउनुपर्ने माग गरे ।

प्रकाशित मिति:July 19, 2023