सुन बरामद भएको तीन दिनपछि गृहमन्त्री श्रेष्ठ पुगे विमानस्थल

  Sampatti News

July 21, 2023

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित श्रेष्ठले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्र पुगेर अनुगमन गरेका छन् । गृहमन्त्री श्रेष्ठसहितको टोलीलाई भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका थिए । उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन् । हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बुधबार अपरान्ह बरामद भएको थियो । करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए। उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए । करिब सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो।

प्रकाशित मिति:July 21, 2023