कोशीमा एमालेका कार्की कामचलाउ मुख्यमन्त्री बन्ने हल्ला हुँदा अझै पुर्नबाहलीहुन सकेन

  Sampatti News

July 30, 2023

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि एमालेले हिक्मतकुमार कार्की कामचलाउ सरकारका मुख्यमन्त्री बन्ने दाबी गरेको थियो । कतिसम्म भने एमालेका नेता र कानुन व्यवसायीले कार्की कामचलाउ मुख्यमन्त्रीमा स्वतः पुनःस्थापित भएको अभिव्यक्तिसमेत दिएका थिए । सोही खालका समाचार मिडिया र सामाजिक सञ्जालमा आएका पनि हुन् ।

तर चार दिन हुनलाग्दासम्म कार्की कामचलाउ सरकारका मुख्यमन्त्रीमा पुनर्बहाली हुन सकेका छैनन् । बरु अहिले कोशीमा नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहेको छ । प्रदेश प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन् । सोही कारण कोशीमा कसको नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने चासो देखिएको छ ।

कांग्रेस–माओवादी गठन उद्धव थापाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न लागिपरेका छन् । त्यसका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाइने भित्री तयारी छ । सम्भवतः सोमबार दिउँसोसम्म गौतमले सभामुख पदबाट राजीनामा दिए नयाँ सरकार गठन हुने छ । यदि नभएमा एमालेले अल्पमतको सरकार बनाउने भएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार बनाउने दलहरूको तयारी छ । तर एमाले भने संविधानको धारा १६८ को उपधारा ३ पर्खिरहेको छ । एमाले नयाँ सरकार बनाउन कुरिरहँदा अर्कै सरकार बन्ने सम्भावना धेरै देखिएको छ ।

कोशीमा नयाँ सरकार बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग शनिबार छलफल गरेका छन्।

प्रकाशित मिति:July 30, 2023