स्याङ्जा ट्राफिकले गत बर्षमा ५२ लाख बढी राजस्व सङ्कलन गर्यो

  Sampatti News

July 18, 2020

स्याङ्जा । स्याङ्जाको जिल्ला ट्राफिक कार्यालयले गत आर्थिक वर्ष २०७६÷७७ मा ५२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार ५ सय, धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार ५ सय , ३ हजार ९ सय ६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार ५ सय,१ हजार ८ सय २४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार ५ सय, १ हजार २ सय ७१ बसबाट ८ लाख ४० हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनाराले बताउनुभयो।

त्यस्तै ९ सय ३१ ट्रकबाट ५ लाख ८८ हजार ५ सय गरी ७ हजार ९ सय ९२ सवारीसाधन कारवाहीमा पर्दा उक्त राजस्व सङ्कलन भएको छ।
आव २०७५÷७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ को बन्दाबन्दीका कारण राजस्व सङ्कलनमा करीब २९ प्रतिशतले कमी भएको ट्राफिक प्रमुख चुनाराले बताउनुभयो।

गत आर्थिक वर्षमा स्याङ्जामा भएका १५ वटा सवारी दुर्घटनामा चार पुरुष, तीन महिला र दुई बालबालिका गरी नौ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रुहरु पनि सचेत हुनु जरुरी छ”, प्रमुख चुनाराले भन्नुभयो, “सबै पक्षले ट्राफिक नियम पालना गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण उपलब्धि हुनेछ।”

प्रकाशित मिति:July 18, 2020