बडीकेदार गाउँपालिकाको मुकाममा बिजुली बल्यो, २ वर्षभित्र सबै वडामा बिस्तार हुने

  Sampatti News

August 15, 2023

डोटी । डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर–२ खड्यौलीमा बिजुली पुगेको छ ।

सोमवार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बत्तीको स्विच अन गरेर बत्तीको उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकाम सम्म बिजुली बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण दिपायलका प्रमुख शिवशंकर सोनीले बताए ।

आर्थिक वर्ष २०७९ र ०७० को टेन्डर अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको हो । उपकरण तथा सामाग्रीहरू प्राधिकरणका हुन भने निर्माण कम्पनीले काम गरेको हो । निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता बमोजिम कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्नेछ ।

बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएकोले दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तारको काम भइरहेको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने पालिकाको समग्र पक्षको विकासमा म लागेको छु । केही वर्ष भित्र सबै क्षेत्रको सुधार भएको देखिन्छ । बिजुलीलाई मुख्य प्राथमिकताका साथ हेरेको छु काम भइरहेको छ दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तार हुन्छ ।

वडाहरूमा बिजुली बिस्तार अन्तरगत सबै वडाहरूमा जाने लाइनको लागि पोलहरू बिस्तारको काम भइरहेको छ ।

पालिकामुकाममा पुगेको बिजुली केन्द्रीय प्रसारण लाइनको नभई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको सालमुनी हाइड्रोपावर बाट जडान गरिएको हो ।

प्रकाशित मिति:August 15, 2023