भारतमा मुण्डन गरिएका व्यक्ति नेपाली होईनन्, हजार रुपैँया लिएर भिडियो बनाएको पुष्टि

  Sampatti News

July 19, 2020

काठमाडौँ । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएको व्यक्ति नेपाली नभएको पुष्टि भएको छ।

उनी भारतीय नागरिक नै रहेको र पैसा लिएर अभिनय गरेको बाराणसी प्रहरीले जनाएका छन्।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेको भन्दै सामाजिक सञ्जालमा हालिएको भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन समेत लगाइएको खुलासा भएको छ।

शुक्रवार बनारसमा ‘एक नेपाली’ को कपाल खौरिदिएको समाचार दुवै देशमा भाइरल भएको थियो।

भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो।

नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन संवाद गरेका थिए। त्यस क्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारबाही गर्ने बताएका थिए।

भिडियो खिच्नेदेखि बनाउनेहरूको खोजी सुरु गरेको प्रहरीले शनिवार उनलाई भेटाएको छ। र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ।

भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक भएको उनी बाराणसीमा जन्मिएका र परिवारका सदस्य सरकारी सेवामा रहेको खुलेको छ।

साडीको पसलको काम गर्ने धर्मेन्द्र सिंहले एक हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छ। उनले भिडियो बनाएबापत एक हजार रुपैयाँ लिएको पाइएको प्रहरीले बताएको छ । लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि एक हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरूबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:July 19, 2020