उपसभामुखले संसदीय परम्परा तोडेर द्वन्द्व निम्त्याउन खोज्नुभयो ः मुख्यमन्त्री थापा

  Sampatti News

August 21, 2023

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताए ।

उपसभामुख दनुवारले आफैँले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको मुख्यमन्त्री थापाको आरोप छ । उनले अहिलेको विषम परिस्थितिबाट शान्तिपूर्ण तरिकाले सहज निकासका लागि परामर्श गरिरहेको बताए ।

प्रमुख प्रतिपक्षी दलसँगको सहमतिमा उदारतापूर्वक गठबन्धनको १५ र तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटको ८५ प्रतिशत राखेर प्रतिस्थापन विधेयक ल्याएर प्रदेशसभा सचिवालयमा आइतबार दर्ता गराइसकिएको मुख्यमन्त्री थापाले बताए । उनले एमालेसँगको सहमतिमा नै निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीसम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराउँदा पनि विश्वासको मतमा यति ठूलो रडाको मच्चाएको गुनासो पोखे ।

अब आफू नेतृत्वको सरकारले आफ्नै बजेट ल्याएर प्रदेशसभाबाट पारित गराउने मुख्यमन्त्री थापाले बताए ।

प्रकाशित मिति:August 21, 2023