‘पार्टीलाई विधि–पद्दतिमा लगि वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ’, माधवकुमार नेपाल वरिष्ठ नेता

  Sampatti News

July 22, 2020


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एब पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो।

नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् । ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ। आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ’, विज्ञप्तिमा उल्लेख छ। पुष्पलालको नेतृत्वमा ५ जनाले २००६ सालमा स्थापना गरेको नेकपा आज नेपाली जनताको आशा, भरोषा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको नेता नेपालले बताउनु भएको छ।

त्यस्तै उहाँले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु सधैँ मार्गदर्शनका रुपमा रहेको उनको भनाई बिज्ञप्ति मार्फत आएको छ।

प्रकाशित मिति:July 22, 2020