प्राधिकरणले वित्तीय प्रतिवेदन सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै

  Sampatti News

August 30, 2023

काठमाडौ‌ं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका लागी वित्तीय प्रतिवेदन सम्बन्धमा नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको निर्देशिकामा जीवन, निर्जीवन, पुनर्बीमा र लघु बीमा सबैका लागी वित्तीय विवरण सम्बन्धी प्रावधान समावेश गरिएका छन् ।

नयाँ निर्देशिकामा बीमांकी मूल्यांकन भएको अवधिमा दायीत्व सिर्जना भइसकेको तर बीमकसमक्ष दाबी नगरिएको दायीत्वको हकमा बेग्लै व्यवस्था गर्नुनपर्ने भएको छ । यो प्रावधानले दायीत्व सिर्जना भई भुक्तानी हुन बाँकी दाबीवापतको दायीत्वका लागी ११५ प्रतिशत व्यवस्था गर्नुपर्ने साबिकको प्रावधानबाट बीमकलाई केही राहत मिल्ने भएको छ।

निर्देशिकामा शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले कारोबार गर्न इजाजत पाएको मितिले तीन वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने पुरानो प्रावधान यथावतै राखिएको छ । यसैगरी
(२) शेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचिलत कानून बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्छ ।

साथै कर्जामा नोक्सानी भएमा पनि वितरण योग्य मुनाफाबाट नोक्सानी बराबरको रकम घटाउनुपर्ने भएको छ। निर्देशिकाको निर्देनशन नम्बर १७ (१) मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने र बीमकले वित्तीय विवरणमा कर्जाको नोक्सानी व्यवस्था गरेको अवस्थामा व्यवस्था गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान रहेको छ ।

बीमकले यस अघि देखाएको असमाप्त जोखिम वापतको व्यवस्थान रकमलाई जीवन बीमा कोष अन्तर्गत बीमालेख अन्तर्गतको दायीत्व हिसाबमा देखाउनुपर्नेछ। यसबाहेक बीमितलाई १० वर्ष सम्म भुक्तानी हुन नसकेको दाबीवापतको रकमलाई बीमकले बीमित हित स‌ंरक्षण कोषमा सार्नुपर्नेछ । बीमा ऐन २०७९ को प्रावधान अनुसार यस्तो कोषको व्यवस्था पहिलो पटक लागू गरिन लागेको हो ।

यसैगरी बीमकले बीमक, पुनर्बीमक, ब्रोकर वा अन्य आसामीबाट लिन बाँकी देखाएको हिसाबको लागी गरेको इम्पेयरमेन्ट खर्च तोकिएको रकमभन्दा कम भएमा सो रकमलाई वितरणयोग्य मुनाफा गर्दा घटाउनुपर्ने प्रावधान समेत रहेको छ।

क्र‍.सं. रकम बक्याैता रहेकाे अवधिबीमक, पुनर्बीमक, ब्राेकर वा अन्य आसामीबाट लिन बाँकी रकम
चार वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे शत प्रतिशत
तीन वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे पचहत्तर प्रतिशत
 दुई वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे पचास प्रतिशत
 एक वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकि रकमकाे पच्चीस प्रतिशत

नयाँ निर्देशिका जारी भएपछि प्राधिकरणबाट जारी गरिएका निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७, पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७,जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ खारेज हुनेछन् । यसबाहेक प्राधिकरणबाट जारी भएको मिति २०७५।०६।११ को बी.स.१० च.नं. १११८ र मिति २०७५।०९।१२ को बी.स. ६१ च.नं. २६१४ को नेपाल वित्तीय प्रतिवेदनमान अनुसारको वित्तीय विवरण सम्बन्धी निर्देशन खारेज गरिनेछन् ।

प्रकाशित मिति:August 30, 2023