पाल्पा स्कार्पियो दुर्घटना ः मृतक तीनै जनाको पहिचान खुल्यो

  Sampatti News

August 30, 2023

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। तानसेन(तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका–२५ का विनोद तिम्सिना रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। माथिबाट झरेको ढुङ्गा सहितको सुख्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षत(विक्षत भएको छ। मृतकहरूको शवसमेत क्षत(विक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिपमाथि बुधबार बिहान करिब सवा ८ बजे पाल्पाको जोर्तेमा ढुङ्गा खसेको थियो। दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। डिभिजन सडक कार्यालय पाल्पाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी चौडा बनाउँदै आएको थियो।

प्रकाशित मिति:August 30, 2023