किम जोङ उन पुटिनलाई भेट्न किन पुगे रुस

  Sampatti News

September 12, 2023

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । नेता किम सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।

यसअघि उनी रुस जाँदा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्बिर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो ।

रुसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएका छन् । चार वर्षपछि उनले गरेको पहिलो विदेश विदेश भ्रमण हो ।

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लागेका छन्। सशस्त्र फौजका साथ उनी यात्रामा छन्। उनका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन् । द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन्।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्याङ्क मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सचालन हुने पनडुब्बी प्रविधि चाहेको छ । यद्यपि क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । पश्चिमा प्रतिबन्धबाट पिरोलिएको प्योङयाङले मस्कोसँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताइएको छ ।

दुवै नेताबीचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारहरूलाई बताए । उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन दुई देशको हितमा त्यो केन्द्रित हुनेछ, वासिङ्टनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारेको जिज्ञासको जवाफमा उनले स्पष्ट गरे ।

किम जोङको अन्तिम विदेश यात्रा सन् २०१९ मा रुसको भ्लादिभोस्टोक सहरको थियो, त्यहाँ उनले पुटिनलाई भेटेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको थियो ।

प्रकाशित मिति:September 12, 2023