किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आज दिइँदै

  Sampatti News

September 13, 2023

काठमाडौं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्नेछन् ।

 सात प्रदेशका सातवटै अस्पतालबाट एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिए । उनका अनुसार छ प्रदेशका छवटा अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइने बताए । 

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । शाखाका प्रमुख डा गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्याइसकेको बताए । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । 

महाशाखाका निर्देशक डा विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय (३ ९६६ दशमलव पाँच प्रतिशत) को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । 

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।

एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।

प्रकाशित मिति:September 13, 2023