विद्यालय तहमा ४६ हजार दरबन्दी थप गरिँदै, राहत, प्राविधिक र अनुदानमा कार्यरत शिक्षकलाई उमेर हद नलाग्ने

  Sampatti News

September 13, 2023

काठमाडौँ । सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । बुधबार संसद्‍मा दर्ता भएको शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा राहत शिक्षकहरूलाई उमेरहद नलाग्ने भएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा उक्त व्यवस्था गरिएको छ। 

विधेयकमा भनिएको छ,‘राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने
विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने।

यो प्रस्तावअनुसार विधेयक पारित भएमा राहतका ४६ हजार नयाँ दरबन्दी थपिने शिक्षा मन्त्रालयले जनाएको छ । अहिले १ लाख ६ हजार मात्रै दरबन्दी स्वीकृत छ । अब विधेयक पारित भएमा ४० हजार राहत, ४ हजार ११ र १२ कक्षाको अनुदान, ३५० विशेष शिक्षा र १ हजार ६ सय ५० प्राविधिकतर्फ शिक्षकको दरबन्दी थपिने जनाइएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत राहत, प्राविधिक धार र अनुदानमा कार्यरत शिक्षकलाई स्थायी परीक्षामा सहभागी हुन उमेरहद नलाग्ने विधेयकमा व्यवस्था गरेको छ । राहत र अनुदान कोटामा देशभर करिब ४६ हजार शिक्षक कार्यरत छन् । यदि परीक्षामा अनुत्तीर्ण भएमा आर्थिक सुविधा उपलब्ध गराउन सकिने प्रस्ताव विधेयकमा छ ।

सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक, कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकलाई सेवा अवधिका आधारमा सरकारले निर्धारण गरेअनुसारको आर्थिक सुविधा प्रदान गर्न सकिने पनि विधेयकमा व्यवस्था गरिएको छ । कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई भने शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुलातर्फको विज्ञापनमा भाग लिन पाउने व्यवस्था गरिएको छ । उनीहरूलाई पनि उमेरहदको प्रावधान तोकिएको छैन ।

प्रकाशित मिति:September 13, 2023