प्रहरीकै अगाडि ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात

  Sampatti News

September 20, 2023

काठमाडौं- सुदूरपश्चिमको कञ्चनपुरमा बिरामीको आफन्त भन्दै एक व्यक्तिले ड्यूटीमा रहेका एक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो। सोमबार राती ११:१५ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका गैरेमाथि बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले आक्रमण गरेका हुन्।

केन्द्रको सिसिटिभी फुटेज अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ। आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए।

सिसिटिभी फुटेज अनुसार खड्काले प्रहरीकै अगाडि स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण र गालीगलौज गरेको देखिन्छ। 

आक्रमणकारी खड्काले उपचारका क्रममा ढिलाई गर्नुका साथै टाँका लगाउन धागो छैन भनेपछि विवाद भएको स्विकार गरे। उनले आक्रमण नभइ आफूले धक्का मात्र दिएको प्रतिक्रिया दिएका छन्।

सरकारले हेटौंडाको सञ्चो अस्पतालमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने गरी चिकित्सक संघसँग सहमति गरेको ४८ घण्टा वित्न नपाउँदै सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।

प्रकाशित मिति:September 20, 2023