इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने (सुचनासहित)

  Sampatti News Online

October 8, 2023

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने भएका छन ।

शैक्षिक सत्र २०८०।०८१ मा स्नातक तह (बि.ई.बि.आर्क)को गत भदौ २५ देखि सञ्चालन हुनुपर्ने प्रवेश परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डका पदाधिकारी लगायत पुलचोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएपछि स्थगित भएको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डको तर्फबाट जारी सूचनामा असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइन मार्फत प्रवेश परीक्षा फारम भर्न सकिने छ । फारम भर्न छुटेका विद्यार्थीका लागि उक्त व्यवस्था गरिएको हो । यस पटक पहिलो पटक पोखरामा पनि परीक्षा हुने बोर्डले जनाएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको असोज १९ गतेको निर्णय अनुसार (४ वर्षको) धरौटी सहित नियमित तर्फ ५६ हजार ७ सय रुपैयाँ, पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार रुपैयाँ र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । सरोकारवाला निकायबिच भएको छलफल अनुसार नयाँ शुल्क निर्धारण परीक्षा सञ्चालन गर्ने सहमति भएको बोर्डका एक अधिकारीले जानकारी दिए । यसअघि शुल्क वृद्धिको विषयलाई लिएर विवाद भएपछि परीक्षा अनिश्चित बनेको थियो । 

प्रकाशित मिति:October 8, 2023