२०८४ मा गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस एक रहँदैन : गगन थापा

  Sampatti News Online

October 19, 2023

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा सम्बोधन गर्दै थापाले गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी पनि दिए।

‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं । यो कसैले कल्पनै नगरे हुन्छ । यदि कसैले गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहँदैन ।’

उनले चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने बताए । ‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ,’ थापाले भने, ‘त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले गलत छ ।

उनले अर्को चुनाव आउन चार वर्ष बाँकी हुँदा नै पार्टीभित्र चुनाव हारिन्छ कि भनेर रुवाबासी भइरहेको बताए ।

‘तल वडादेखि माथिसम्म कांग्रेस सरकारमा बसेको छ । अनि नेता कार्यकर्ताको ध्यान सरकारमा बसेर आफ्नो जिम्मेवारी निभाउने कुरामा होइन, अर्कोपटक सरकारमा कसरी पुग्ने भन्नेमा मात्रै छ,’ उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ भन्ने सुनिन्छ। यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्त्वपूर्ण भइरहेको छ ?’

थापाले आफूहरूले फागुन १ मा दिइने जनयुद्ध दिवस नमान्ने पनि बताए। उनको भनाइ छ, ‘यो सरकारको प्रधानमन्त्री माओवादी केन्द्रका नेता प्रचण्ड हुनुहुन्छ। यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछौँ भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौँ भनेर स्वीकार गर्न सक्छ? सक्दैन। किनभने हाम्रा लागि त्यो रणनीतिक विषय होइन, सैद्धान्तिक विषय हुन्छ। किनभने हामी फागुन १ लाई दिवसको रुपमा मान्दैनौँ।’

प्रकाशित मिति:October 19, 2023