कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

  Sampatti News Online

November 6, 2023

बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय दिएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

तर केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ। अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ, भण्डारीले भने, ‘विश्वासको मतमा भने हाललाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ।’

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा एमालेकाे सहयाेगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असाेजमा मुख्यमन्त्री बनेका थिए । २८ असाेजमा शपथ ग्रहण गरेका उनले साेही दिन एमालेबाट राम राना र कांग्रेस विद्राेही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

१ कात्तिकका विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियाे ।

प्रकाशित मिति:November 6, 2023