मौलापुरमा ३ करोडको लागतमा कृषि सेवा केन्द्र निर्माण हुँदै

  Sampatti News Online

November 29, 2023

रौतहट १३ मंसीर। रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सुविधा सम्पन्न कृषि सेवा केन्द्र निर्माण हुने भएको छ। नगरप्रमुख रिना कुमारी साहको पहलमा मौलापुरमा ३करोडको लागतमा सुविधासम्पन्न कृषिसेवा केन्द्र निर्माण हुनलागेकाे हो।
रीड कार्यक्रम अन्तर्गत मौलापुर ४ स्थित पतौरामा ३ करोडको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कृषि सेवा केन्द्र बन्ने निश्चित भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
सेवा केन्द्र निर्माणको लागी रीड कार्यक्रमका प्रमुख रबिन्द्र मेहता एवं कर्मचारीहरुद्वारा मंगलवार स्थलगत निरिक्षण पश्चात् सबै प्रक्रिया पूरा भएको अधिकृत साहले जानकारी दिएका छन्।
निर्माण हुनलागेको कृषि सेवा केन्द्रमा कृषि प्रयोगशाला एवं आवश्यक उपकरण समेतको वयवस्था हुनेछ । सेवा केन्द्र निर्माण पछि मौलापुरका हजारौँ किसानले लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।
मौलापुर नगर प्रमुख रिना कुमारी शाहको पहलमा नगरक्षेत्र अन्तर्गतका किसानलाई बिशेष प्राथमिकतामा राखिएको छ। नगरपालिकाले किसानलाई बिभिन्न बालीको उन्नत जातको बीउ विजन, मलखाद, साथै अनेक प्रकारका कृषि उपकरण निःशुल्क बितरण गर्दै आएको छ। त्यसैगरी मौलापुर नगरपालिका अन्तर्गतका किसानले खेती किसानी गर्न प्रयोग गर्ने विद्युत महशुल नगरपालिकाले बुझाउने गरेको छ भने जग्गा मालपोत शुल्क पनि निशुल्क गरेको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:November 29, 2023