नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै

  Sampatti News Online

November 29, 2023

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिर देखी १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाउँदैछ ।

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाउन लागेको हो ।

माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले जानकारी दिए । दुई दिनसम्ममा खोपासीका ६० भन्दा बढी किसानको माटो निशुल्क परीक्षण गरिने उनले बताए ।

१९ मंसिरमा केन्द्रको खुमलटार, ललितपुर स्थित कार्यालयमा सेमिनार, बहस र किसानलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । ‘विश्व माटो दिवसमा सामेल होऔं र दिगो भविष्यको लागि यो अमुल्य श्रोतको संरक्षण गर्न प्रतिबद्ध बनौं’ भन्ने आह्वान केन्द्रले गरेको छ ।

खोपासी, भक्तपुरमा किसानको निशुल्क माटो परिक्षण गर्दा त्यहाँका विद्यार्थीलाई समेत त्यसमा संलग्न गराउने कार्यक्रम रहेको छ । केन्द्रका बैज्ञानिक डा।रोशनबाबु ओझाका अनुसार विद्यार्थीलाई माटो परीक्षण गर्ने तरिका र स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउने र जाँच प्रक्रियामा सहभागि गराउने बताए । साथै विद्यार्थीहरुलाई माटोको नमुना संकलन विधि सिकाउने पनि उनले बताए ।

‘त्यो माटोमा कति पानी बहन गर्ने क्षमता, उपलब्ध नाइट्रोजन, प्राङगारिक कार्बन र माटोको अम्लीयपन, क्षारीयपन छ भन्ने बारेमा उनीहरु ९विद्यार्थी० आफैलाई जाँच गर्न लगाउँने हो’ बैज्ञानिक डा. ओझाले भने, ‘यसको उदेश्य मानव स्वास्थ्य जस्तै माटोको पनि स्वास्थ्य जाँच हुन्छ भन्ने बारेमा जानकारी दिने हो ।’

नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफ.ए.ओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

विश्वभर बिद्यमान रहेको माटोको दिगो उर्वराशक्ति व्यवस्थापन सम्बन्धि विषयलाई विश्वस्तर मै एकताबद्ध रुपमा सम्बोधन गर्ने र यस सम्बन्धमा व्यापक जनचेतना अभिबृद्धि गर्ने मूल ध्येयका साथ संसारभरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउँने गरिन्छ ।

खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.)को सिफारिसमा संयुुक्त राष्ट्र संघको ६८औं महासभाको निर्णयले सन २०१३ देखि डिसेम्बर ५ का दिनबाट यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व माटो दिवस १० औं विश्व माटो दिवस हो । नेपालमा भने सन २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो ।

माटो र पानी जीवनको दिगोपनको लागि आवश्यक श्रोत भएको बताउँदै केन्द्रका प्रमुख डा. विष्टले माटो र पानी अन्तरसम्बन्धित श्रोतहरु भएको र यिनलाई एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको बताए । अनुचित माटो र पानी व्यवस्थापनको अभ्यासहरुले भू–क्षयीकरण, माटोको जैविक विविधता, उर्बरता, पानीको गुणस्तर र मात्रालाई असर गर्ने गरेको उनले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा।कालिकाप्रसाद उपाध्यायले नेपालमा खेतीयोग्य माटोको उर्वरापन खस्कँदै गएको र यसबारे पर्याप्त जानकारी किसानसमक्ष नपुगेको वर्तमान अवस्थामा बिश्व माटो दिवस मनाउनु महत्वपूर्ण रहेको बताए । उनले यस बर्षको माटो दिवसले माटो संरक्षण र सुधार गरी आउँदो पुस्तालाई स्वस्थ र उर्वर माटो सुम्पन सबैलाई प्रेरित गर्ने बताए ।

वर्तमान अवस्थामा रसायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिंचाई प्रबिधिको कम प्रयोग, कृषि रसायनको अनियन्त्रित एवं प्रांगारिक मलको न्युन प्रयोगका कारण खस्किदै गएको माटोको गुणस्तरबारे कृषक तथा आम नागरिकलाई जागरुक बनाउन पनि बिश्व माटो दिवसको छुट्टै महत्व रहेको डा। उपाध्यायले बताए ।

प्रकाशित मिति:November 29, 2023