कटहरियामा रक्सी ख्वाएर लुटपाट गर्ने दुई जना पक्राउ

  Sampatti News Online

December 29, 2023

रौतहट १२ पुस। रौतहटको कटहरिया नगरपालिका स्थित रुपैयाँ लुटपाटमा संलग्न दुईजना युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण कुमार सिंहको नेतृत्वमा गएको टोलीले वडा ४ बहादुरपुरका बाबुलाल बैठाको छोरा बर्ष ३१ को नसिब बैठा र वडा ५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा बर्ष ३६ को हरि शंकर साह सोनार लाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजना मिलेर स्थानिय बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिएर उनको साथमा रहेको ८२ हजार रुपैयाँ आज बिहान लुटेर भागेका थिए।
घटनाको खबर लगत्तै सई सिंहको टोलीले नगरपालिका ५ गाउँ छेउ बाट सोनार र बैठालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथ बाट प्रहरीले ५९ हजार रुपैयाँ बरामद गरी आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताए।
पक्राउ परेका दुवैजना नियन्त्रणमा रहेको तथा उनीहरू माथी डाँका तथा लुटपाट सम्बन्धी मुद्दा चलाईने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओम प्रकाश खनालले बताएका छन। पक्राउ परेका सोनार र बैठा पछिल्लो लामो समय देखि बिहानै देखि मदिरा सेवन तथा लागुऔषध समेत प्रयोग गर्दैआएको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति:December 29, 2023