राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

  Sampatti News Online

January 8, 2024

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ। 

आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ। 

आयोगले उम्मेदवारको मनोनयन दाखिला गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नुपर्ने छ। तर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ।

साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्ने आयोगले जनाएको छ। त्यसै गरी दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, राष्ट्रिय सभा सदस्य निर्वाचन पदको लागि दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ।

त्यसै गरी अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिनेले नेपाल सरकारको अधिकार प्राप्त निकायले दिएको अपांगता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न गर्नुपर्ने पनि आयोगले भनेको छ।

प्रस्तावक र समर्थकको नाम र तिनको मतदाता नामावली नाम भएको व्यहोरा खुल्ने कागजात, उम्मेदवारको सम्पत्ति विवरण, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणा पत्र चाहिने भनिएको छ।

यसपटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले साझा उम्मेदवार उठाउने भएका छन्। नेकपा एमाले भने एक्लै चुनाव लड्नेछ। 

सत्तारुढ गठबन्धनमा सिटहरुको बाँडफाँट समेत भइसकेको छ। गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने समझदारी बनेको छ।

प्रकाशित मिति:January 8, 2024