दियोबाट कपडामा आगो सल्किएर महिला घाइते

  Rishi Kumar Yadav

January 9, 2024


विराटनगर। विराटनगरमा आगोले जलेर सोमबार राति एक जना महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ की ६० वर्षीया लक्ष्मी कामत घाइते भएकी हुन्। घरको कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किंदा कामत घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ‘सुतिरहेका बेला कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।’जलेर गम्भीर घाइते भएको अवस्थामा राति ११:४५ बजेतिर महिलाको उद्धार गरिएको थियो। उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको छ। नर्सिङ होमले थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी गरेको छ।
डीएसपी दाहालका अनुसार कामतको हात, खुट्टालगायत शरीरको ६५ प्रतिशतजति भाग आगोले जलेको जानकारी अस्पतालले गराएको छ। कोठाभित्र लागेको आगो तत्काल नियन्त्रणमा लिइएका कारण थप क्षति नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:January 9, 2024