भ्रष्टाचारको आरोपमा टिमुरेका तत्कालीन प्रमुख इन्स्पेक्टर निर्दोष ठहर

  Sampatti News Online

January 9, 2024

काठमाडौं । रसुवाको सीमा प्रहरी चौकीका तत्कालीन प्रमुख खेम नेपालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र अन्य तीन जना हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायणसिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार सफाइ हुने फैसला सुनाएको हो ।

रसुवाको केरुङबाट भित्रिएको तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीमाथि छानविन गरिएको गियो । टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो । ११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनुपर्नेमा इन्सपेक्टर नेपाल सहितको टोलीले बाँडीचुँडी खाएको छानविन पछि खुलेको थियो । अख्तियारले २०७७ असार ५ गते टिमुरेका तत्कालीन प्रमुखसहित चार जना प्रहरीविरुद्ध अभियोग/पत्र दायर गरेको थियो ।

बरामद सुन बिक्री गरेर पैसा खाएको आरोप उनीहरुमाथि लागे पनि अख्तियारले बिक्री भएको भनिएको सुनसहितका ठोस प्रमाणहरु जुटाउन सकेको थिएन ।

प्रकाशित मिति:January 9, 2024